जेठ ५ देखि बन्द भिसा सेवा आजदेखि सुरु

जेठ ५ देखि बन्द भिसा सेवा आजदेखि सुरु

काठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि भिसा सेवा सुरु गरेको छ। निषेधाज्ञाका कारण गत जेठ ५ देखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै सुरु गरिने विभागले जनाएको हो ।

गत वैशाख १५ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । विभागको सूचनामा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने उल्लेख छ ।

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि विभागको सूचनामा उल्लेख गरिएको छ ।
विभागका अनुसार असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियमअनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ ।

यस्तै पर्यटक भिसाका लागि १५० दिनसम्म मात्र बस्न सकिने प्रावधान भएकामा यो वर्ष कोरोनाका कारण अवधि बढाएर २१० दिन बनाइएको छ । निषेधाज्ञाको अवधि १५० दिनमा गणना नहुने भएकाले पर्यटक भिसा अवधि बढाइएको हो ।

प्रकाशित मिति:     १८ असार २०७८, शुक्रबार  |    Himali Khabar