भुकम्पपछिको पुनःनिर्माणको समय कात्तिकसम्म

भुकम्पपछिको पुनःनिर्माणको समय कात्तिकसम्म

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संस्थागत संरचना र कार्य प्रणाली आगामी कात्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९औँ बैठकले आर्थिक वर्ष २०७७/७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवासलगायत पुनःनिर्माणका काम २०७८ कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोभिड महामारीको दोस्रो लहर नियन्त्रणका लागि घोषणा गरिएको निषेधाज्ञाका कारण निजी आवास पुनःनिर्माणलगायत काममा अवरोध आएकाले यसअघिको बहिगर्मन तथा हस्तान्तरण कार्ययोजना परिमार्जन गरिएको बताए । यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकभित्र ती काम सम्पन्न गरिने र सोही अवधिमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कामलाई पनि एकैसाथ अघि बढाइने जानकारी दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उल्लेखित कामका लागि आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनदेखि नै आवश्यक बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । बैठकले कोभिड–१९ महामारीको दोस्रो लहरका कारण काम सम्पन्न गर्न नसकेका निजी आवासका लाभग्राहीलाई २०७८ कात्तिक मसान्तसम्मको समयावधि तोकेको छ । त्यस अवधिमा उक्त कामको फछ्र्यौट गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति:     ११ असार २०७८, शुक्रबार  |    Himali Khabar