इलाम–२ उपनिर्वाचन गराउन १२ करोड आवश्यक

इलाम–२ उपनिर्वाचन गराउन १२ करोड आवश्यक

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते दुईवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि १२ करोड रुपैयाँ माग गरेको छ ।

इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नेम्वाङको भदौ २६ गते हृदयघातबाट र सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १५ का लागि मिति तोकेको हो ।

प्रतिनिधि सभाको एक सिट र प्रदेश सभाको १ सिटका लागि निर्वाचन गराउने जिम्मेवारीमा रहेको आयोगले अर्थमन्त्रालयसँग १२ करोड रुपैयाँ माग गरेको छ ।

प्रकाशित मिति:     ३० फाल्गुन २०८०, बुधबार  |    Himali Khabar