भिजिट भिसामा नयाँ मापदण्ड लागू

भिजिट भिसामा नयाँ मापदण्ड लागू

काठमाडौं । सरकारले भिजिट भिसामा सोमबारदेखि नयाँ मापदण्ड लागू गर्ने भएको छ । व्यक्तिगत श्रम स्वीकृतिलाई सहज बनाउने र भिजिट भिसामा रोजगारको उद्देश्यले जाने प्रवृत्तिलाई नियन्त्रण गर्न विभिन्न नीतिगत निर्णय गर्न लागिएको छ ।

जसअनुसार सोमबार नयाँ एड्भाइजरी जारी गर्न लागिएको हो । पुरानो १७ बुँदे मापदण्ड त्यससँगै खारेज हुने छ ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले भिजिट भिसासम्बन्धी पुरानो मापदण्ड खारेज गरी नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री शरत्सिंह भण्डारीलगायत सहभागी बैठकले व्यक्तिगत श्रम स्वीकृतिलाई सहज बनाउने निर्णय गरेको छ । साथै, भिजिट भिसामा जानेको हकमा प्रस्ट मापदण्ड बनाउने र यससम्बन्धी ट्राभल एड्भाइजरी जारी गरिने भएको छ ।

सोमबार ट्राभल एड्भाइजरी जारी गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ बताउँछन् ।

प्रकाशित मिति:     ९ माघ २०८०, मंगलवार  |    Himali Khabar