बैंकहरुमा ५ खर्ब तरलता हुँदा पनि व्यवसायीले पाएन्न कर्जा

बैंकहरुमा ५ खर्ब तरलता हुँदा पनि व्यवसायीले पाएन्न कर्जा

काठमाडौं। बैंक तथा वित्तीय प्रणालीमा ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा ५९ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप छन् । यसको ९० प्रतिशतसम्म बैंकहरुले लगानी गर्न पाउँछन् । तर अहिलेसम्म बैंकहरुले जम्मा ८१ प्रतिशत मात्रै गरेका छन् ।

तर यहिबेला जलविद्युत् आयोजनाका लगानीकर्ता भने आयोजना निर्माणका लागि रकम जुटाउन नसकेर बैंकहरु चहारिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ । २६ सय ३० मेगावाट बराबरका १ सय ८ वटा आयोजना विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरी लगानी जुटाउने चरणमा छन् । यसमध्ये १ हजार मेगावाट बराबरका आयोजनाका लगानीकर्ताले बैंकमा पुग्दा सहजै ऋण नपाएको अध्यक्ष गणेश कार्कीले गुनासो गरे ।

सस्तो ब्याजदरमा ऋण दिनुपर्ने र लामो समय आम्दानी पनि नाफामा देखाउन नपाइने भएपछि बैंकहरुले यश क्षेत्रमा लगानी गर्न चासो दिन छाडेकाे उनको गुनासो छ ।

यसअघि आयोजनालाई दिएको ऋणबाट बैंकहरुले सो ऋण र अवधि बराबरको ब्याज रकम छुट्याएर अर्को खातामा राख्थे । तर, यसरी प्राप्त भएको ब्याज नाफामा बाँड्न नपाइने भनेपछि बैंकका कर्मचारीहरूले लगानी गर्ने चाहना राखेको देखिँदैन ।

बैंकहरुले कुल कर्जाको १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । अहिले बैंकहरुले ऊर्जा क्षेत्रमा ३ खर्ब १४ अर्ब बराबरको लगानी गरिसकेका छन् । जुन कुल कर्जाको ६ प्रतिशत मात्र हो ।

प्रकाशित मिति:     १२ मंसिर २०८०, मंगलवार  |    Himali Khabar