ककनीको पानी हङकङ र मकाउ निर्यात सुरु

ककनीको पानी हङकङ र मकाउ निर्यात सुरु

काठमाडौं। नुवाकोटको ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु भएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर खोलेको उद्योगले पानी निर्यात सुरु गरेको हो।

गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए। हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी त्यहाँको एसएल ट्रेडिङ कम्पनीमार्फत यहाँबाट निर्यात सुरु गरिएको उनले जानकारी दिए।

सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ। अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनले बताए। माग बढेको अवस्थामा उद्योगको क्षमता विस्तार गर्ने पनि योजना छ।

सञ्चालक खत्रीका अनुसार हाल कम्पनीको दैनिक पानी फिल्टरिङ र प्याकिङ क्षमता औसतमा एक लाख लिटर छ। कम्पनीले काठमाडौंको तारकेश्वर(३ मा करिब १२ करोड लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ। कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुंगाना पुनकाजी महर्जन र राजु रिमाल छन्।

सन् २०१७ देखि वेभ नेपाल सञ्चालनमा आएको हो। यसअघि सबैको पानी प्रशोधनको व्यापार छुट्टाछुट्टै थियो।

प्रकाशित मिति:     २३ असार २०८०, शनिबार  |    Himali Khabar