थप ११ विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्दै प्राधिकरण

थप ११ विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्दै प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले थप ११ स्थानमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माण अघि बढाएको छ।

३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन अन्तिम चरणमा निर्माण गरिरहेको प्राधिकरणले थप ११ वटा गरि कुल ६१ वटा निर्माण गर्न लागेको हो। इलेक्ट्रिक भेहिकल प्रयोगकर्ताको संख्या बढ्न थालेसँगै अन्य स्थानमा समेत आवश्यकता महसुस गरेर प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो।

आयोजना प्रमुख सागर ज्ञवालीका अनुसार ओखलढुंगाको घुर्मी, सिन्धुलीको मरिन, सिन्धुलीको जिल्ला प्रहरी कार्यालय, कंचनपुरको महेन्द्रनगर बसपार्क, स्याङजाको वालिङ, दोलखाको चरिकोट, रुपन्देहिको सैनामैना रिफ्रेस सेन्टर, नुवाकोटको हावा घर र बसपार्क (२ वटा) चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो। थप निर्माण हुन लागेको मध्ये ६ वटा जिबीटी र ५ वटा सीसीएस टु प्रकृतिका चार्जरहरु राख्न लागिएको छ।

प्रकाशित मिति:     ७ जेष्ठ २०८०, आईतवार  |    Himali Khabar