उपत्यकामा आजदेखि निषेधाज्ञा

उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा निकाय प्रमुखकोे बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै बिहीबारबाट उक्त आदेश लागू भएको हो ।

यो अवधीमा विवाहका लागि प्रयोग गरिने सवारीसाधनका लागि पास नचाहिने बुँदा थप गरिएको छ । सवारीमा दुलहा–दुलही पनि हुनुपर्ने र १५ जनासम्म जन्ती जान पास चाहिने छैन । पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था, बीमा एवं नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा सञ्चालन हुन पाउने छन् ।

अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्यलाई काठमाडौँ जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू भने बन्द हुने छैन ।

प्रकाशित मिति:     १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar