काठमाडौं –तराई/मधेस द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु गरिने

काठमाडौं –तराई/मधेस द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु गरिने

काठमाडौं । काठमाडौं –तराई/मधेस द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ ।
द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गर्न लागिएको हो ।

निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि द्रुतमार्गको निर्माण कार्य निजगढतर्फबाट नै सुरु गरिने तयारी भइरहेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतसम्बन्धी समस्या अझै सुल्झिन नसकेको अवस्थामा काठमाडौँतर्फबाट कामलाई अगाडि बढाउँदा विभिन्न समस्या देखिएको तर निजगढ तर्फबाट कामलाई अगाडि बढाउन कुनै पनि समस्या नरहेकाले त्यसतर्फबाट नै काम अगाडि बढाउन तयारी सुरु गरिएको जानकारी दिए । खोकनाको जग्गा विवादका कारण आयोजनाको अन्य ठाउँको काम अवरोध नहुने प्रवक्ता पौडेलले स्पष्ट पारे ।

निजगढतर्फबाट काम सुरु गर्ने तर खोकनातिरको विवाद पनि सल्टाउँदै जाने नीति सेनाको छ । खोकनामा अझै करिब साढे चार सय रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी छ ।

दु्रतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर रहेको छ ।

प्रकाशित मिति:     ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar