भारतमा कोरोना बढेपछि नेपाल फर्कनेको नाकामा लर्को

भारतमा कोरोना बढेपछि नेपाल फर्कनेको नाकामा लर्को

बाँके । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको संख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिए ।

उनका अनुसार शनिवार मात्रै दुई हजार ३७२ नेपाली भारतबाट फर्किएका छन् । तीमध्ये एक हजार २९५ कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । भारततर्फ जाने संख्या भने घटेको छ । शनिवार २९९ व्यक्ति भारततर्फ गएका छन् । तीमध्ये कतिपय नेपाली औषधोपचारका लागि गएका छन् भने भारत जानेमा अधिकांश भारतीय नागरिक नै रहेका छन् ।

नेपालगञ्जस्थित जमुनाह नाका भएर भारतको मुम्बई, दिल्ली, महाराष्ट्र, गडवाललगायत भारतीय शहरबाट दैनिक ठूलो संख्यामा नेपाली घर फर्किने गरेका छन् । प्रहरी नायव निरीक्षक गिरीले भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै घर फर्किने नेपालीको लर्को लागेको बताए । जोखिम बढेपछि रुपैडिहा किनमेलका लागि जान रोक लगाइए पनि कतिपयले जोखिम मोलेरै अनौपचारिक नाका प्रयोग गरिरहेको देखिन्छ । स्वास्थ्य उपचार र अत्यावश्यकीय कामको लागिमात्र नेपालीलाई भारत जान दिइएको छ ।

यसरी भारतबाट नेपाल फर्किएकामध्ये ६० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति:     ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar