होटल व्यवसायी भन्छन्–माैद्रिक नीतिको त्रैमासिक समीक्षाले हतोत्साहित बनायो

होटल व्यवसायी भन्छन्–माैद्रिक नीतिको त्रैमासिक समीक्षाले हतोत्साहित बनायो

काठमाडौं । होटल संघ नेपाल (हान‌) ले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीहरूलाई थप हतोत्साहित बनाएको बताएको छ। कोरोनाले थला परेको पर्यटन तथा होटल व्यवसायी बैंकको साँवा ब्याज भुक्तानीका लागि चरम तागेता र उच्च ब्याजदरबाट देशैभर आन्दोलित रहेको अवस्थामा यस समीक्षाबाट केही सहज गर्ने गराइने आश्वासन प्राप्त भएता पनि होटल व्यवसायीहरुको न्यूनतम मागहरू समेत पूरा हुन नसकेको प्रति होटल संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालाहरूसँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरूत्थानमा प्रयत्न सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि तागेता गरिरहेको छ। होटल उद्योगले बैंकहरूलाई बुझाउनु पर्ने साँवा र ब्याजका लागि समयावधी बढाउने सम्बन्धमा सहजिकरण गरिदिन हानले पटकपटक अनुरोध गर्दै आइरहेको छ।

अत्याधिक वृद्धि भएको व्याजदर घटाई होटल संचालन गर्नका लागि पुनर्तालिकिकरण तथा पुनरकर्जा व्यवस्थापनमा व्यवहारीक र सहज स्पष्टता सहितको व्यवस्था गर्न आग्रह गरिएता पनि यस समीक्षाले कुनै पनि किसिमको सम्बोधन नगरकाले पर्यटन व्यवसायमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको हानले जनाएको छ। मुलुकमा निजी क्षेत्रको सत्प्रयास, ठूलो लगानी र जोखिम मोल्न सक्ने विशष्ट क्षमताबाट विकास भई आजको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा विकसित नेपालका होटल उद्योग व्यवसायहरुको नै संरक्षण र आगामी दिनमा लगानी विस्तार समेत हुन नसक्ने बताएको छ।

प्रकाशित मिति:     १४ मंसिर २०७९, बुधबार  |    Himali Khabar