कपाल प्रत्यारोपण गर्न सहुलियत ऋण पाइने

कपाल प्रत्यारोपण गर्न सहुलियत ऋण पाइने

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ। तर, यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो।

अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ। अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो।

कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिस्मा अर्यालले बताइन्। बैंकले २५ हजारदेखि दुई लाख रुपैयाँसम्म धितोबिना यस्तो ऋण शून्य व्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ।

१८ महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ।

प्रकाशित मिति:     ४ पुष २०७८, आईतवार  |    Himali Khabar