सङ्खुवासभामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू

सङ्खुवासभामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू

काठमाडौं, १६ फागुन । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । स्थानीयस्तरमै रोजगार सिर्जना गर्नेगरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यस कार्यक्रमअन्तर्गत नगरका ११ वटै वडाबाट २७६ जना लाभग्राही छनोट भएर रोजगार पाएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए । यस कार्यक्रमअन्तर्गत रहेर लाभग्राहीको सूचीमा परेका नगरभित्र २७६ जनाले दैनिक ५१७ रुपियाँ पारिश्रमिक पाउने गरी न्यूनतम ५० दिन रोजगारी पाउने छन् ।

नगरभित्र बेरोजगारीको सङ्ख्या बढ्दो रहेकाले विदेशिनु परेको भन्दै गुजारा गर्न सहजताका लागि केही अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । लाभग्राहीलाई काम गर्नका लागि आवश्यक सामग्री औजारलगायतका सामानहरू खाँदबारी नगरपालिकाले नै उपलब्ध गराउने जनाएको छ ।

लाभग्राहीले आआफ्नो वडाभित्र रहेका कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, पूर्वाधारलगायतको कार्यमा समावेश भएर काम गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar