तारकेश्वर गाउँपालिकामा गतबर्ष ५ करोडबढी खर्चको लेखानै भेटिएन

तारकेश्वर गाउँपालिकामा गतबर्ष ५ करोडबढी खर्चको लेखानै भेटिएन

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा बेरुजु बार्षिक रुपमा बढ्दै गएको छ । एक आर्थिक वर्षमै बेरुजु रकम झन्डै दोब्बर थपिएको छ । अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा २ करोड ५९ लाख ९८ हजार रुपैयाँ बेरुजू देखिएको थियो । तर गत आर्थिक वर्ष २०७६-०७७ मा ५ करोड २७ लाख ३६ हजार बेरुजू देखिएको छ ।

महालेखापरिक्षकको प्रतिवेदन अनुसार एक आर्थिक वर्षमै २ करोड ६८ लाख रुपैयाँ बेरुजु थपिएको छ । बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम हो । यो रकम लेखापरीक्षण गर्दा औंल्याइएको हुन्छ ।

बेरुजु हुनु भनेको आर्थिक सुशासनलाई कमजोर बनाउनु र आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो । तर बेरुजु निस्कँदैमा आर्थिक हिनामिना नै भई सक्यो भन्न सकिँदैन । यसलाई जतिसक्यो छिटो नियमित गरिनुपर्दछ ।

आर्थिक वर्ष २०७६- ०७७ मा बेरुजु देखिएको मध्ये असुल गर्नुपर्ने रकम १९ लाख ८३ हजार रुपैयाँ छ भने ४२ लाख ३० हजार रुपैयाँ नियमित गर्नुपर्ने छ । ४ करोड ६५ लाख २३ हजार रुपैयाँको प्रमाण तथा कागजात पेश गर्न महालेखा परीक्षकले भनेको छ ।

आर्थिक वर्ष २०७४-०७५ मा लेखापरीक्षणबाट १ करोड ७६ लाख ८ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने १३ लाख ११ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड ४३ लाख ९५ हजार रुपैयाँ थियो ।

प्रकाशित मिति:     ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar