काभ्रे कांग्रेसको विवाद अनुपममा छताछुल्ल, गुरुङ र न्यौपानेबीच विवाद

काभ्रे कांग्रेसको विवाद अनुपममा छताछुल्ल, गुरुङ र न्यौपानेबीच विवाद

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा झडप भएको छ । बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो । तर, यो विवादको जड काभ्रे पलाञ्चोक जिल्लाको कांग्रेसको गुटको लडाईसँग ठोकिन्छ ।

गुरुङ समूहका दिल लामा र रोहित लामाबिच हात हालाहाल भयो । न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए । अध्यक्ष गुरुङ नेतृत्वको कमिटीले पौसा संकलन र जन्मदिनको केक काट्ने बाहेक अरू काम गर्न नसकेको उनको टिप्पणी थियो । आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको पनि न्यौपानेले लेखेका थिए ।

सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप–प्रत्यारोप चलेको थियो । गुरुङ र न्यौपाने समूहबिच विवाद बढ्दै जाँदा केन्द्रीय समिति बैठकमा कुटाकुट भएको देखिन्छ । गुरुङ र न्यौपाने दुवै सभापति शेरबहादुर देउवा पक्षमा मानिन्छन् । हातपातमा उत्रिएका दिल र रोहित भने काभ्रेमा फरक फरक कित्तामा छन् । दिल काभ्रेमा शिव हुमागाईं निकट हुन् भने रोहित सभापति तिर्थ लामा निकट । काभ्रेमा अहिले शिव र तिर्थ समूहबीच तिक्त सम्बन्ध छ । जिल्लाका फरक समुहका दिल र रोहितलाई हात हालाहालको अवस्थामा पुर्याउने विषय भने न्यौपानेको स्टाटस र त्यसमाथि अध्यक्ष गुरुङको प्रतिप्रश्न बन्न पुग्यो ।

प्रकाशित मिति:     ३१ बैशाख २०८१, सोमबार  |    Himali Khabar