बागमती प्रदेशको हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने

बागमती प्रदेशको हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने

काठमाडौं, १६ फागुन । बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ। एक कार्यक्रमबीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा स्थापित मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।

संघीय सरकारले २०७२ साल चैत १ गते मयूरधापको ३ सय बिघा जमिनमा नयाँ औद्योगिक क्षेत्र घोषणा गरे पनि जग्गाको भोगाधिकार विवादका कारण निर्माणकार्य अघि बढेको थिएन। सरकारले औद्योगिक क्षेत्रको नाममा जग्गाको लालपुर्जा दिए पनि पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्राधिकारभित्रको जमिन भन्दै जग्गा उपयोगमा रोक लगाएको थियो।

मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपुर्जा मयूरधाप औद्योगिक क्षेत्रका नाममा नामसारी गरिएको थियो। औद्योगिक क्षेत्र तयारीका लागि करिब साढे सात अर्ब खर्च अनुमान गरिएको छ। डीपीआर तयारीपछि मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको सम्झौता गरेपछि बाँकी जमिनलाई ४ देखि १४ रोपनीसम्मका गरी ६३ वटा प्लटमा विभाजन गरिएको छ । दुई वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने औद्योगिक क्षेत्रको लक्ष्य छ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar