काठमाडौं । काठमाडौंका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई “सहरी स्वास्थ्य प्रवर्धन केन्द्र”का रुपमा स्तरोन्नति गरिने भएको छ ।आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डविच सम्झौता भएको हो ।
सम्झौतामा महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर गरेका छन। एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको महानगरले जनाएको छ ।
प्रमुख शाक्यले परियोजनाबाट लक्षित समूहमा कार्यक्रम पु¥याउन सहज हुने बताए । स्वास्थ्य सेवामा सबैको समान पहुँच विस्तार गर्न लगानी बढाएको भन्दै पूर्वाधार सुधार, उपकरण खरिद र जनशक्तिको समुचित परिचालनबाट लक्ष्यमा पुग्ने बताए । प्रमुख शाक्यले अहिले कोविड महामारी व्यवस्थापनमा महानगरले गरिरहेका कामका बारेमा चर्चा गर्दै, सबैलाई कोविड विरुद्धको खोप दिन सरकारसँग मिलेर काम गरिरहेकोले हतास नहुन आग्रह गरे ।
यस्तै मेड्सका डा. फेबोलले प्रयोगशाला स्थापना, जनशक्ति थप गर्ने, चिकित्सकीय सामाग्री तथा उपकरण थप गर्ने योजना सुनाए ।
सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन् । सम्झौताबमोजिमको स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ ।