चाँगुनारायण नगरपालिकाले ४१ करोडमा कार्यालय भवन बनाउने

चाँगुनारायण नगरपालिकाले ४१ करोडमा कार्यालय भवन बनाउने

काठमाडौं, ६ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँ लागतमा वडा नम्बर ५ स्थित घुमाउनेमा सुविधासम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा बन्ने भवनको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बाँस्तोला, नगर प्रमुखका प्रत्यासी राजाराम खड्काले संयुक्त रूपमा शिलान्यास गरे ।

नगरपालिकाको प्रशासनिक भवन, सेमिनार हल, एमओईसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घरलगायत संरचना निर्माण गरिनेछ । कुल ४१ करोड ३४ लाख २५ हजार ३ सय ७२ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनमध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनिक भवन ३ हजार ६ सय ४० स्क्वायरफिटमा ६ तले हुनेछ ।

कार्यक्रममा नगरप्रमुख मिश्रले नगरपालिकाको नयाँ भवनका लागि ६० करोड रुपैयाँको डीपीआर गरे पनि लागत घटाइएको बताउँदै आवास र अतिथिगृहको भवन भने अहिलेको बजेटमा निर्माण नगरी दोस्रो चरणमा निर्माण गरिने जानकारी दिए ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar