नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको आठ वटै स्वास्थ्य चौकीबाट यही मंगलबारदेखि निःशुल्क औषधि वितरण गरिने भएको छ। आठ वटै स्वास्थ्य केन्द्रहरूबाट कोरोना संक्रमण भएका वा मिल्दोजुल्दो लक्षण देखिएका सबैलाई निः शुल्क औषधि वितरण गर्ने कार्यको थालनी गरिने एन्जिलिना शिवशक्ति ट्रस्टका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले बताए ।
यसअघि तारकेश्वरका युवा नेता तथा समाजसेवी राजकुमार भट्टराईको संयोजकत्वमा गठित अध्ययन तथा अनुगमन समितिले तयार पारेको प्रतिवेदन अनुसार आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्री व्यवस्थापन गरिसकेको उनले जानकारी दिए ।
तारकेश्वरका युवा साथीहरूबाट अक्सिजन ग्यासको व्यवस्थापन र आइसोलेसन केन्द्रको क्षमता अभिवृद्धिका लागि चलाइएको पनि उनले उच्च प्रशंसा गरेका छन् । ‘हामी सबै मिलेर सबैले जो सक्दो सहयोग गरेर नै महामारीसँग लड्ने हो । यस्ता परोपकारी अभियानमा हातेमालो गर्न हामी सधैं तत्पर छौं ।’
पछिल्लो समय तारकेश्वरमा संक्रमण केही फैलिएपनि सामाजिक सञ्जालमा हल्ला फिजाईए जस्तो भयावह नरहेको भन्दै अनावश्यक हल्ला फैलाएर जनतालाई त्रसित नबनाउन पनि ट्रस्टका अध्यक्ष अधिकारी आग्रह गरे । उनले सबै नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै अनावश्यक रूपमा नअतालिन भनेका छन् । उनले भने ‘कोरोनालाई परास्त गर्ने सबैभन्दा ठूलो शक्ति नै बलियो आत्मबल हो भन्ने विज्ञहरुले बताएका छन् । त्यसकारण अनावश्यक हल्लाको पछि लागेर नआत्तिन आग्रह गर्दछु ।’
यस्तै कोरोनाका गम्भिर बिरामीहरुलाई हेलिकोप्टरबाट निःशूल्क उद्धार गर्ने भन्दै आवश्यक समन्वयका लागि समेत स्थानीय समाजसेवी एवम् नेपाली कांग्रेस नुवाकोटका युवा नेता अधिकारीले आग्रह गरेका छन् । कोरोना संक्रमणबाट जोगिन मास्क, सेनिटाइजरको उचित प्रयोगसँगै अत्यावश्यक काम नपरी घर बाहिर नकिस्न आग्रह गरे । पछिल्लो समय अधिकारीले तारकेश्वरका ६ वटै वटाका लागि १० हजार भन्दा बढी मास्क र १ हजार बोतर बढी सेनिटाइजर प्रदान गरिसकेका छन् ।