नुवाकोट । तारकेश्वर गाउँपालिकामा डिजिटल बोर्ड खरिदमा अनियमितता भएको भन्ने प्रचारमाथि पालिकाले खण्डन गरेको छ । पालिकाले आज विज्ञप्ति प्रकाशन गर्दै पालिका सदस्य एवम् वडा अध्यक्षले आफ्नो नाजायज माग, अतिरिक्त बजेट र वैयक्तिक सुविधा नपाएको कुण्ठामा कपोकल्पिता आरोप लगाएको उल्लेख छ ।
साथै अनियमितता भएको शंका लागेमा आवश्यक छानवीनका लागि समेत जिम्मेवार निकायलाई आग्रह गरेको छ । आवश्यक प्रमाण र अन्य कागजात कार्यालयमा सुरक्षित गरेको जनाएको छ ।

के भन्छ बिक्री कम्पनी
बोर्ड काठमाडौंको अनामनगरस्थित इनोभेटिभ मिडिया एण्ड मल्टिपल बिजनेस प्रालि मार्फत खरिद गरिएको हो । सप्लायर्स कम्पनी इनोभेटिभ मिडियाका पदम सन्ज्यालले आफूले गाउँपालिकाको बोर्ड बनाउन ६४ हजारजति नाफा लिएको भन्दै यसमा कसैलाई कमिसन नदिएको स्पष्ट पारेका छन् । उनले बोर्ड ३२ स्क्वायर फिटको भएको र त्यसमा प्रतिस्क्वार फिट २ हजार मार्जिन राख्दा ६४ हजार नाफा रहेको बताए ।
यो गुणस्तरीय बोर्ड भएकाले पनि महँगो भएको भन्दै उनले यो सामान्य रातो स्कोलिङ बोर्ड जस्तो नभएको प्रष्ट पारे । यसको बजार रेट नै प्रतिस्क्वायर फिट १४ हजार देखि १६ हजार ५०० रुपैयाँ सम्म रहेको उनको भनाइ छ ।