तारकेश्वर गाउँपालिका कार्यालय भवन दशैडाँडामा स्थानान्तरण गरिने, जन-गुनासो सुन्न हटलाइन संचालन

तारकेश्वर गाउँपालिका कार्यालय भवन दशैडाँडामा स्थानान्तरण गरिने, जन-गुनासो सुन्न हटलाइन संचालन

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको आज बसेको पहिलो कार्यपालिका बैठकले दानसिङस्थित गाउँपालिकाको कार्यालय दानसिङकै दशैडाँडाको सामुदायिक भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। हाल भाडाकाे भवनमा कार्यालय रहेकोमा सुविधासम्पन्न उक्त सामुदायिक भवनमा छिट्टै स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

सामुदायिक भवनमा प्रयाप्त पार्किङ, शौचालय, पानीलगायतका सबै सेवासुविधा रहेको र भौतिक संरचना समेत राम्रो रहेकाले नागरिकको सहजसेवाका लागि उपयुक्त रहेको बताइएको छ ।

गाउँपालिकाले हाल बार्षिक ८ लाख रुपैयाँ कार्यालय भाडा तिर्दै आएको छ। स्थानान्तरण गरेपछि उक्त भाडा बचत हुनेछ ।

यस्तै यहि बैठकले तारकेश्वरका नागरिकको जन-गुनासोलाई सम्बोधन गर्न हटलाइन संचालन गर्ने निर्णय पनि गरेको छ । कुनै पनि समस्या वा गुनासो भएमा नागरिकले चौबीसै घण्टा हटलाइना टिपाउन सक्ने गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:     १९ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar