काठमाडौं उपत्यकाको फोहोर उठाउन अझै साता लाग्ने

काठमाडौं उपत्यकाको फोहोर उठाउन अझै साता लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो ।

पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए । साँघुरो ठाउँ तर लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहोरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन ।

‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौं महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने ।

विगत दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar