काठमाडौं, १२ फागुन । काभ्रेको नमोबुद्ध नगरपालिकाको आयोजनामा महिलाका लागि सञ्चालित ६ दिने सीप विकास तालिम मंगलबार सम्पन्न भएको छ । तालिम ६ फागुनदेखि नमोबुद्ध वडा नम्बर ११ मा रहेको एकल महिला भवनमा सञ्चालन गरिएको थियो ।
तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । तालिम समापन कार्यक्रम वडा नम्बर ११ का वडाध्यक्ष कृष्णवहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नमोबुद्धका विभिन्न वडाका ३० जना सहभागी तालिममा लप्सीलगायत ५ थरी परिकारको प्रदर्शनीसमेत गरिएको नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।