अनिश्चित बन्दै बागमती प्रदेशसभा बैठक

अनिश्चित बन्दै बागमती प्रदेशसभा बैठक

काठमाडौं, ८ फागुन । बागमती प्रदेशसभाको सातौं अधिवेशन सुरु भएर पनि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा सभामुख सानुकुमार श्रेष्ठले दलीय सहमति विपरीत प्रदेशसभा बैठक लगातार स्थगित गर्दै आएका हुन् । फागुन ५ गते २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै स्थगित गरे । उनले बैठक बस्ने भनिएकै दिन बिहान ६ः३५ बजे सूचना टाँसेर प्रदेशसभा सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी गराएका थिए ।

विशेष कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गरिएकोे यो दोस्रो पटक हो । यसअघि माघ १९ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक पनि सभामुख श्रेष्ठले माघ १८ गते राति नै सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए भने प्रदेशसभाका सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी एसएमएसमार्फत पठाएका थिए ।

बैठक स्थगित भएपश्चातः नेकपाको प्रचण्ड–माधव पक्षका बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले उपसभामुख राधिका तामाङसँग भेट गरी सभामुख श्रेष्ठले सरकारको दबाब र प्रभावमा परी संसद बैठक स्थगित गरेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका थिए । उनीहरुले उपसभामुख समक्ष विरोधपत्र पनि बुझाए ।

प्रकाशित मिति:     ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar