बयालपाटा अस्पताललाई स्थानीय तहको आर्थिक सहयोग

बयालपाटा अस्पताललाई स्थानीय तहको आर्थिक सहयोग

काठमाडौं, ७ फागुन । अछामका स्थानीय तहहरूले बयालपाटा अस्पतालललाई आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् । अस्पतालको दीर्घकालीन सेवाका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न स्थानीय तह सकारात्मक देखिएका हुन् । विदेशी दातृ निकायको सहयोग कम हुँदै गएपछि अस्पतालले आर्थिक भार खेप्नु परेपछि व्यवस्थापनमा कठिनाइ भएसँगै अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यसको सहजीकरणको नेतृत्व लिएका थिए ।

अस्पतालको आर्थिक अवस्था खस्किएपछि पत्रकार, सामाजिक सञ्जाल, सञ्चार माध्यम, समाजसेवी तथा स्थानीय तहबाटै सहयोग हुनुपर्ने आवाज उठेसँगै प्रजिअ उपाध्यायले पहल लिएका थिए । जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बयालपाटा अस्पताल दीनदुःखी, गरिब र असहायका लागि भरपर्दो भएकाले यसलाई दिगोपना दिन स्थानीय निकायले पनि अपनत्व लिनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले बिहीबार मंगलसेनमा अछामका सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय प्रमुखसँग समन्वय बैठक आयोजना गरी अस्पतालका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका थिए । सोही क्रममा स्थानीय तहका प्रमुखहरूले पनि अस्पतालबाट आर्थिक सहयोग माग भई आए उपलब्ध गराउन सकिने उल्लेख गरे ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar