खुलामञ्चमा राखिएका भौतिक संरचना हटाउदै महानगर

खुलामञ्चमा राखिएका भौतिक संरचना हटाउदै महानगर

काठमाडौं, ६ फागुन । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य शुरु गरेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो ।

अहिले स्कुल निर्माण सम्पन्न भइसकेको छ भने अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेकाले काठमाडौं महानगरले खुलामञ्चमा राखिएका सामग्री हटाउन लागेको हो । पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल सभा, विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेकाले छिटो खाली गर्न लागिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायीरूपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ । अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुञ्जेल खुलामञ्चमा ठूला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरिएको छ । अहिले वीर अस्पताल निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । अब जतिसक्दो छिटो खुलामञ्च खुला गर्न थालिनेछ । बाँकी निर्माण कार्यका लागि निर्माणस्थलमा सामग्री राखेरै काम गर्न सकिनेछ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar