काठमाडौं । तारकेश्वर गाउँपालिकाको १२औँ गाउँसभा असार १० गते भव्य रुपमा सम्पन्न भएको छ । सभाको अध्यक्षता गर्नुभएका गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालले आगामी आर्थिक वर्ष २०८२।०८३ को आर्थिक विनियोजन विधेयक (बजेट) प्रस्तुत गर्नुभयो । सभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेको छ ।
अध्यक्ष अधिकारीले तारकेश्वरको समृद्धि र विकासको अभियानमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै १२औँ गाउँसभामार्फत अभूतपूर्व एकता प्रदर्शन भएकोमा खुसी व्यक्त गर्नुभएको छ । सर्वसम्मतिका लागि सबै राजनीतिक दलहरुप्रति उहाँले आभार प्रकट गर्नुभएको छ ।
अध्यक्ष अधिकारीले गाउँसभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न भूमिका खेल्नुहुने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुसँगै सम्पूर्ण तारकेश्वरवासीमा हार्दिक आभार प्रकट गर्नुभएको छ ।
पालिकाले आगामी आर्थिक बर्षको लागि ४० करोड २२ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेश सरकारले समेत छुट्याएको बजेट समेत जोड्ने हो भने पालिकाले आगामी बर्ष करिव १ अर्बको बजेट परिचालन गर्ने छ ।