धादिङ । धादिङको सदरमुकाम धादिङबेशीमा माघ १० गतेदेखि सुरु भएको पहिलो धादिङ लोक सांस्कृतिक महोत्सवको समापन गरिएको छ ।
‘लोक संस्कृति प्रवर्द्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सव ७० हजार दर्शकले अवलोकन गरेका बताइएको छ ।
‘धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो’, महोत्सव मुल आयोजक समितिका संयोजक दीपक कोइरालाले भने- ‘टिकट काटेर हेर्ने र महोत्सवलाई हरेक तवरबाट सहयोग पुऱ्याउने तथा स्टल व्यवसायीहरु सबै गरेर ७० हजारभन्दा माथि दर्शकले अवलोकन गरेका छन् । विविध कारण र आवश्यकताको मध्यनजर गरेर २० गतेसम्म चल्ने भनिएको महोत्सव २२ गते समापन गरिएको हो । महोत्सव सभ्य र भव्य बनाउन सहयोग पुऱ्याउने सबैप्रति आयोजक समिति आभारी छौं ।’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गरेको हो । माघ १० देखि २० गतेसम्म महोत्सव सञ्चालन हुने भनिएपनि विविध कारणले दुई दिन थप गरिएको महोत्सव मंगलबार समापन गरिएको हो । ‘कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सहयोग पुगेको छ’, उनले भने- ‘अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण बन्यो । ज्वालामूखी गाउँपालिका प्रथम, गजुरी गाउँपालिका द्धितिय, नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका तृतिय भएका छन् ।’
मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरुले महोत्सवको थप रौनक दिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइन् । ‘यो महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङमार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना हुनेछ । महोत्सव पूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति सम्मान छ’ उनले भनिन् ।