प्रश्नपत्रमा त्रुटि भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन परीक्षा समितिलाई अध्यक्ष अधिकारीको निर्देशन

प्रश्नपत्रमा त्रुटि भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन परीक्षा समितिलाई अध्यक्ष अधिकारीको निर्देशन

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले प्रश्नपत्र निर्माणमा भएको त्रुटिका सम्बन्धमा गाउँ परीक्षा समितिसँग २४ घन्टे स्पष्टीकरण माग्नुभएको छ । गाउँ शिक्षा समितिका संयोजक समेत रहेका अध्यक्ष अधिकारीले भोलि १० बजे स्वयम् गाउँपालिका कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्न राजाराम अधिकारी संयोजक रहेको नौ सदस्यीय परीक्षा समितिलाई निर्देशन दिनुभएको हो ।

शैक्षिक सुधारको अभियान चलिरहँदा यस्तो त्रुटि हुनु दुःखको विषय भएको भन्दै अध्यक्ष अधिकारीले चित्त बुझ्दो स्पष्टीकरण नआए कारबाहीको प्रक्रिया सुरु गरिने बताउनुभएको छ । परीक्षा समितिमा शिक्षकहरू राजाराम अधिकारी, राजकुमार रिमाल, सुदीप ढुङ्गाना, मेनुका श्रेष्ठ, अमृत अधिकारी, विष्णु कुमार तामाङ, राम प्रसाद अधिकारी, सीताराम वस्ती, मिना लामिछाने र राजाराम अधिकारी हुनुहुन्छ ।

सामाजिक सञ्जालमा आइरहेका टीका टिप्पणीका सम्बन्धमा अध्यक्ष अधिकारीले त्रुटिलाई सच्याउन र आइन्दा यस्तो त्रुटि हुन नदिन गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै मानवीय त्रुटिको विषयलाई अतिरञ्जित नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति:     ८ चैत्र २०८०, बिहीबार  |    Himali Khabar