नेपालका ४ महिला फुटबलरले पाकिस्तानमा खेल्ने

नेपालका ४ महिला फुटबलरले पाकिस्तानमा खेल्ने

काठमाडौं, १९ फागुन । नेपालका चार जना महिला फुटबलरले पाकिस्तानमा फुटबल खेल्ने भएका छन्। नेपालको राष्ट्रिय लिग च्याम्पियन नेपाल एपिएफ क्लबका सरु लिम्बु, एन्जिला तुम्बापो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको महिला राष्ट्रिय फुटबल च्याम्पियनसिप खेल्न लागेका हुन्।

चारै जना नेपालको राष्ट्रिय टिमका सदस्य हुन्। गोलकिपर एन्जिलका अनुसार उनीहरू पाकिस्तानको मासा युनाइटेडमा आबद्ध भएका छन्। तर कति रकममा आबद्ध भएको विषयमा एन्जालले खुलाएकी छैनन्। सरु मिडफिल्डर हुन् भने गीता डिफेन्डर र अनिता फरवार्ड हुन्। एन्जिलासहितका चारै जनाले एपिएफलाई सिजनको राष्ट्रिय लिग जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

पहिलो पटक विदेशमा खेल्न लागेकोमा एन्जिलाले खुसी व्यक्त गरेकी छिन्। चारै जनाले पहिलो पटक विदेशमा फुटबल खेल्न लागेका हुन्। गत सिजन एपिएफका फरावर्डद्वय सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले भारतको महिला लिग खेलेका थिए। सन् २००५ देखि सुरु भएको पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको २०२१ को संस्करण आगामी मार्च ८ देखि अप्रिल ३ सम्म हुनेछ।

प्रकाशित मिति:     १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar