ग्वार्डिओला प्रिमियर लिग छाड्ने

ग्वार्डिओला प्रिमियर लिग छाड्ने

रोयटर्स । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला २०२३ पछि इङ्लिस प्रिमियर लिग छाड्ने संकेत गरेका छन् । स्पेनका ग्वार्डिओलाले अब राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने लक्ष्य रहेको बताएका छन् ।

सिटीसँग ग्वार्डिओलाको सम्झैता २०२३ मा समाप्त हुनेछ । ग्वार्डिओला उदृत गर्दै स्पेनिस पत्रिका मार्काले लेखेको छ, ‘‘सम्भव भयो भने अबको यात्रा राष्ट्रिय टोली हुनेछ । यो क्लब सम्हालेको सात वर्ष भइसक्छ । मलाई लाग्छ अब विश्राम लिनुपर्छ ।’’ ग्वार्डिओला २०१६ मा सिटी आएका थिए । उनले सिटीबाट तीन पटक इङ्लिस प्रिमियर लिगको उपाधि जितिसकेको छन् । त्यसअघि ग्वार्डिओलाले बायर्न म्युनिख र बार्सिलोनाको प्रशिक्षण सम्हालेका थिए । बार्सिलोनाबाट दुईपटक च्याम्पियन्स लिगको उपाधि जितेका ग्वार्डिओलाले सिटीलाई भने युरोपियन उपाधि जिताउन सकेका छैनन् ।

‘‘हामीले जे गरिरहेका छौं त्यसबाट विदा लिने बेला भएको छ । यससँगै राष्ट्रिय टिममा अवसर सिर्जना हुनेछ । त्यो चुनौती मलाई मन पर्न सक्छ । मलाई युरोपियन च्याम्पियनसिप, कोपा अमेरिका वा विश्वकपमा प्रशिक्षक बन्ने चाहना छ,’’ ग्वार्डिओलाले भने, ‘‘मलाई त्यो माहोल, त्यो वातावरणको अनुभव लिन मन छ ।’’ ग्वार्डिओलाले बार्सिलोनाबाट खेलाडी हुँदा पनि ६ पटक लिग उपाधि जिताएका थिए । उनले १९९२ मा युरोपियन कपको उपाधि जितेका थिए । ग्वार्डिओलाले स्पेनबाट पनि ४७ खेलमा पाँच गोल गरेका थिए ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar