बेल रियल म्याड्रिड फर्कन तयार

बेल रियल म्याड्रिड फर्कन तयार

काठमाडौं, ७ फागुन । रियल म्याड्रिडमा प्रशिक्षक जिनेदिन जिदानको प्रिय हुन नसकेका ग्यारेथ बेल स्पेन फर्कन तयार रहेको बताइएको छ । रियलमा पछिल्ला वर्षहरूमा कम मौका पाएका बेल हाल पुरानो क्लब टोटनहममा छन् । तर वेल्स विङ्गर जारी सिजनको अन्त्यमा फेरी रियल जान इच्छुक भएको उनको एजेन्ट जोनाथान बारनेटले बताएका हुन् ।

पर्याप्त खेल्ने मौका पाउने आशामा प्रिमियर लिग फर्केका बेलले जम्मा सात खेल मात्रै खेलेका छन् । जसमध्ये दुई खेलमा उनलाई पहिलो एघारमा पारिएको छ । सोचे अनुरुपको मौका नपाए पनि बेलको प्रशिक्षक जोसे मौउरिन्होसँगको सम्बन्ध हार्दिक रहेको बारनेटको दाबी छ ।

‘बेल अझै पनि रियललाई माया गर्छन् । म्याड्रिड फर्कन चाहान्छन् । रियल सुन्दर क्लब हो । त्यसका कारण बेललाई स्पेनी राजधानी फर्कन कुनै समस्या छैन । तर त्यसका लागि रियलले निर्णय लिनुपर्छ । तर मलाई लाग्छ जिदानको बेललाई खेलाउने इच्छा छैन,’ बारनेटले भने । उनले बेल र मौउरिन्होबीच सम्बन्ध राम्रो रहेको दाबी गर्दै तिब्र गतीका फरवार्डले आउँदा सातामा अझ धेरै मौका पाउने आशा ब्यक्त गरे ।

‘प्रशिक्षक मौउरिनहो र बेलबीच कुनै किसिमको समस्या छैन । पत्रकारहरुले मात्रै समस्या देखेका हुन् । बेलले आगामी साताहरुमा मौका पाउनेमा शंका छैन,’ बारनेटले थपे । रियलमा आर्कषक तलब पाइरहेका बेलको टोटनहमतर्फको स्थान्तरणले सबै पक्ष खुशी हुने अपेक्षा लिइएको थियो ।

जिदानको नजरमा बेल पर्न छाडेपछि उनलाई टोटनहमले अनुबन्ध गर्ने इच्छा जाहेर गर्‍यो । बेल आफै पनि खेल्ने मौका पाउने आशाले टोटनहम आइपुगे । तर बेलले पटक पटक चोट बोक्ने र मौउरिन्होले फरक टिम छनौट गर्ने गरेपछि वेल्सका कप्तानका लागि टोटनहम बसाई सुखद बन्‍न सकेको छैन ।

उत्तरी लन्डनमा १६ खेलमा चार गोल मात्रै गर्न सकेका बेललाई टोटनहमले अर्को सिजनका लागि क्लबमा राख्‍ने सम्भावना न्यून छ । उता रियलले पनि ३१ वर्षिय विङ्गरलाई राख्‍ने भन्दा बेच्‍ने प्रयास गर्नेछ । जसका कारण बेलको भविष्य आउँदो सरुवा बजारले निर्क्योल गर्नेछ ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar