अस्पताल र अक्सिजन उद्योगमा विद्युत् कटौती हुन नदिन हाई अलर्टमा

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् कटौती हुन नदिन हाई अलर्टमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घन्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था थालेको छ । अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरूलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

यस्तै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत् निर्बाध आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको जनाइएको छ । अक्सिजन उद्योगहरू रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरू जडान गरिएको हो ।

कोभिड–१९ को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरूमा विद्युत् आपूर्ति हुने फिडरहरूको पहिचान गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न थालिएको थियो । त्यसका लागि देशभरका वितरण केन्द्रहरूलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरूले भनेअनुसार प्रबन्ध गरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:     १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar