प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च लाग्ने

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च लाग्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सरकारलाई सिफारिस गरेको र त्यसका लागि करिब १० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सरकारलाई पेश गरेको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था र मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा खर्च वृद्धि हुने देखिएकाले सो अनुमानित खर्च पेश गरिएको बताउनुभयो ।

यसअघि २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ७ अर्ब ८० करोड खर्च भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ (१) र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को दफा ६ (१) बमोजिम आयोगले आगामी निर्वाचन २०७९ मंसिर २ गतेका शुक्रबार एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन मिति तोक्न सरकारलाई परामर्श गरेको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:     २३ असार २०७९, बिहीबार  |    Himali Khabar