म्यादी हुँ भन्दै सामाजिक संजालमा छाउने युवक पक्राउ

म्यादी हुँ भन्दै सामाजिक संजालमा छाउने युवक पक्राउ

काठमाडौं । पछिल्लोसमय फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् ।

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ । रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ । रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने । प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति:     २१ बैशाख २०७९, बुधबार  |    Himali Khabar