काठमाडौं, २१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमति अनुसार प्रतिबन्धित समूह आज सार्वजनिक भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ भने नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
सहमतिमा हस्ताक्षर कार्यक्रममा उनले जनतालाई नयाँ फैसला गर्ने अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । आजको दिनलाई नेपाली राजनीतिको नयाँ दिन भएको टिप्पणी गर्दै उनले यो सहमतिका पछाडि आफूहरुको महान आकांक्षा लुकेको बताए ।