काठमाडौं, १६ फागुन । कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । शुक्रबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाले बताए । स्वास्थ्यमा सामान्य सुधार देखिएपनि पनि खतरामुक्त भने नभएको उनले बताए ।
शनिबार बिहान जोशीको शरीरको दायाँ भाग चल्न थालेको डा. झाले बताए । दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको उनले जानकारी दिए । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।