कांग्रेस पार्टी कार्यालय सानेपाको धर्नामा नेता केसीको पनि ऐक्यवद्धता

कांग्रेस पार्टी कार्यालय सानेपाको धर्नामा नेता केसीको पनि ऐक्यवद्धता

काठमाडौं । नेपाली कांग्रेसकोको क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर पार्टी मुख्यालय सानेपामा जारी धर्नाप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि ऐक्यवद्धता जनाएका छन्। धर्नामा रहेका बाराका नेता कार्यकर्तालाई भेट्न तथा धर्नामा ऐक्यवद्धता जनाउन नेता केसी बुधबार दिउँसो पार्टी मुख्यालय पुगेका हुन्।

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बाराका नेता कार्यकर्ता विगत ४ दिनदेखि केन्द्रीय कार्यालयमा धर्नामा बसेका छन्। विधान विपरीत क्रियाशील सदस्यता वितरण भएको बाराका नेता कार्यकर्ताको आन्दोलनमा नेता केसीले समर्थन व्यक्त गरेका छन्।

२५ भन्दा बढी नेतारकार्यकर्ता धर्नामा बसिरहेका छन्। बारामा क्रियाशील सदस्यता वितरणमा ठूलो धाँधली धर्नामा बसेका कार्यकर्ताको भनाई छ। वडा सभापतिको हस्ताक्षरबिना नाम इन्ट्री भएको उनीहरुले जनाएका छन्। साथै, क्षेत्रीय र पालिका कार्यसमितिको बैठक नै नबसिकन क्रियाशील सदस्यता इन्ट्री भएको पनि उनीहरुको भनाइ छ। जिल्लाका १ नम्बर क्षेत्र, २ नम्बर क्षेत्र र ४ नम्बर क्षेत्रको क्षेत्रीय सभापतिले नयाँ क्रियाशील सदस्य सीधै इन्ट्री गरेको धर्नाकारीहरुको भनाइ छ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar