कांग्रेस वरिष्ठ नेता पौडेल साताव्यापी पूर्वी तराइको भ्रमणमा

कांग्रेस वरिष्ठ नेता पौडेल साताव्यापी पूर्वी तराइको भ्रमणमा

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ वजे बुद्ध एयरको विमानबाट विराटनगर जाने कार्यक्रम तय भएको छ । पौडेल आजदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए । पौडेल आज आज सुनसरीको धरान पुग्ने छन् । पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोही उपमहानगरपालिकामा निर्माण भएको बीपी पार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।

फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन् । फागुन १० गते सप्तरीका सवै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सिरहा र सप्तरीको सवै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी छोडी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सवै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar