तामाङ बाहुल्य बागमती : बहादुरसिंह लामाको नेतृत्वमा अघि बढ्दै कांग्रेस-एमाले

तामाङ बाहुल्य बागमती : बहादुरसिंह लामाको नेतृत्वमा अघि बढ्दै कांग्रेस-एमाले

काठमाडौं । संघीयता कार्यान्वयनको सात वर्षपछि पहिलो पटक नेपाली कांग्रेसले बागमती प्रदेशको नेतृत्व गर्दै छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा पहिलो पटक कांग्रेसबाट बागमतीको मुख्यमन्त्री बन्ने निश्चित छ । संघीयता कार्यान्वयनपछि मधेस र बागमतीमा अधिलेसम्म कांग्रेसले नेतृत्व गर्न पाएको थिएन । मधेसमा जनमतलाई नै साथ दिने रणनीतिमा रहेका कांग्रेस-एमाले गठबन्धनबाट बागमतीमा भने सबैभन्दा ठुलो दल कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्नेछन् ।


२०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको कांग्रेस यो पटक बागमतीको पहिलो दल हो । ३७ सांसद रहेको कांग्रेसलाई २७ सिट भएको एमालेले साथ दिँदा ११० सदस्यीय प्रदेशसभामा ६४ सिट हुन आउँछ । राप्रपा पनि सकारात्मक रहेको र हाम्रो नेपाली पार्टीले समेत साथ दिने अवस्थामा लामा ८९ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नेछन् ।
एमालेबाट पहिलो मुख्यमन्त्री डोरमणि पौडेल र पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भइसकेका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेको बागमतीमा पहिलो पटक प्रदेशमा बाहुल्य रहेको तामाङ समुदायका लामा मुख्यमन्त्री बन्न लागेका छन् । १७ असारमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार दुई ठूला दलले ३/३ प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति अनुसार लामा पहिलो चरणको मुख्यमन्त्री बन्नेछन् । लामाले दुई वर्षपछि एमालेका जेएन थपलियालाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ ।
बागमती प्रदेशको सबैभन्दा ठूलो जातीय समूह तामाङ समुदायबाट लामा पहिलो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेशको कुल जनसङ्ख्याको २०.५४ प्रतिशत तामाङ रहेको यो प्रदेशलाई दलहरुले राजनीतिक भाषणमा ताम्सालिङ प्रदेश समेत भन्ने गरेका छन् । तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइएको बागमतीमा तामाङ समुदायबाटै मुख्यमन्त्री बन्ने भएपछि विभिन्न राजनीतिक दलका कार्यकर्ता पनि उत्साहित बनेका छन् ।
बागमतीमा तामाङपछि ब्राह्मण १८.३२ प्रतिशत, क्षेत्री १७.१३ र नेवार १७.०७ प्रतिशत रहेको छ ।
दोस्रो संविधानसभा निर्वाचन २०७० मा नुवाकोट ३ बाट भारी मतान्तरले विजयी भएका लामा संविधानको हस्ताक्षरकर्ता पनि हुन् । लामाले त्यसबेला माओवादीका शक्तिशाली महासचिव पोष्टबहादुर बोगटी र एमालेका नारायण खतिवडालाई हराएका थिए । २०७४ को निर्वाचनमा समानुपातिक सांसद रहेका लामा संघीयताको मर्म बुझेका नेतामा पर्दछन् ।


गत २०७९ को निर्वाचनमा प्रदेशसभा २ को २ बाट निर्वाचित लामा कांग्रेस संसदीय दलको नेतामा चयन हुनुभएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामा पार्टीभित्र सन्तुलनकारी नेताका रुपमा परिचित छन् । संसदीय दलको निर्वाचनमा लामासँग पराजित इन्द्र बानियाँले पनि मुख्यमन्त्रीका लागि लबिङ गर्न खोजेका थिए । तर नेतृत्वले अहिले लामाको विकल्प नरहेको जवाफ दिएसँगै बानियाँ पनि लामालाई सफल बनाउने योजनामा छन् । बानियाँले कांग्रेस संस्थापन इतरका केही नेतामार्फत् मुख्यमन्त्रीमा लविङ गरेको समाचार आएको थियो । तर संथापन इतरका नेताहरुले पनि बानियाँलाई साथ दिन नसक्ने बताएका छन् ।


आदिबासी जनजाति बाहुल्य बागमतीमा तामाङ समुदायका लामालाई अघि सार्दा आगामी दिनमा हुने चुनावी अभियानमा पनि सहज हुने देउवाको विश्लेषण छ । संविधानसभा सदस्य रहिसकेका लामा संविधानको मर्म र भावना अनुसार काम गर्नसक्ने युवा नेता भएकाले अहिले लामाकै नेतृत्वमा एमालेसहितको सरकार बनाउन कांग्रेसले छलफल थालिसकेको छ ।

प्रकाशित मिति:     २७ असार २०८१, बुधबार  |    Himali Khabar