सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री

सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।”

प्रधानमन्त्रीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे थप छलफल आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र दिवस मनाउँछौँ । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।”

प्रकाशित मिति:     २४ माघ २०७९, मंगलवार  |    Himali Khabar