२ वर्षमा १ हजारलाई रोजगारी सृजना गर्ने बाटोमा ३२ वर्षे युवा

२ वर्षमा १ हजारलाई रोजगारी सृजना गर्ने बाटोमा ३२ वर्षे युवा

काठमाडौं, १६ फागुन । दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, ‘सपना देख्नेले नै जित हासिल गर्छ ।’ तर देखिएको सपना पूरा गर्न मानिसमा उत्तिकै तत्परता र लगनशीलता भने आवश्यक छ । यस्तै सपना देख्ने र त्यसलाई पूरा गर्ने सधैं तत्पर रहने एक युवा हुन् सुदर्शनराज शर्मा । कास्कीका शर्मा सानै उमेरदेखि हाकिम बन्नुपर्ने स्वभावका थिए । घरमा घुमाउने कुर्सीमा मात्रै बसेर पढ्थे । यति मात्र होइन, टेबलमा डा. सुदर्शनराज शर्मा लेखिएको नेमप्लेट समेत राख्ने गर्थे । उनको बुवा प्रोजेक्टको जागिरे थिए । बुवाको कार्यालयमा पनि त्यही देखेर हुर्किएका उनलाई सानैदेखि त्यसले आकर्षित गर्यो ।

कक्षा १२ को परीक्षा दिएपछि २०६४ सालमा कास्कीबाट काठमाडौं आएका उनले बसुन्धारास्थित सहारा केयर होम हस्पिटलमा रिसेप्सनिष्टको जागिर सुरु गरे । १० वर्षको अवधिमा उनले त्यहाँ अफिसर हुँदै महाप्रबन्धकसम्मको जिम्मेवारी पाए । पद बढ्दै जाँदा उनी त्यहाँको कामदार मात्र बनेनन्, केही शेयर समेत लगानी गरे । तर आन्तरिक राजनीतिका कारण उनलाई महाप्रबन्धकबाट निकालियो । अनि उनी आफ्नै केही गर्ने सोचमा लागे । हस्पिटलको शेयर निकालेर आएको पैसाले ४ वटा ठेला किने र ठेला व्यवसाय सुरु गरे । त्यो कामबाट ३, ४ जनाले रोजागरी समेत दिएका थिए । त्यसपछि उनले रिपोर्ट बनाउने उद्देश्यले भोटेचौर र सिमरामा जग्गा खरिद गरे । त्यसका लागि सहारा बिजनेश ग्रुप नामक कम्पनी नै स्थापना गरे । अहिले उनी काठमाडौंको बानेश्वरमा ग्रुपको कर्पोरेट कार्यालय निर्माणको तयारीमा जुटेका छन् भने काठमाडौंकै बुढानीलकण्ठमा ४ रोपनी जग्गामा ज्येष्ठ नागरिक र एकल व्यक्तिहरूलाई तीन तारे होटल र हस्पिटलको सुविधा सहितको आश्रय दिने उद्देश्यले सहारा च्यारिटी होम निर्माण गरिरहेका छन् । सन् २०२१ को अन्तिमबाट यो सञ्चालनमा ल्याउने उनको तयारी छ ।

३२ वर्षे यी युवाले निर्माण क्षेत्रमा पनि हात अघि बढाएका छन् । त्यसका लागि सहारा कन्स्ट्रक्सन दर्ता गरी काम सुरु गरेका छन् भने हाइड्रोपावर क्षेत्रमा पनि काम गर्न परियोजना छनौटको काम भइरहेको जानकारी दिए । हाइड्रोमा भने एकल भन्दा पनि निर्माणाधीन कुनै परियोजनामा लगानी गर्ने उनको योजना छ ।

मुलुकका सातओटै प्रदेशमा कृषि र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्ने उनको योजना छ । त्यसका लागि टर्की र मलेशियाबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने तयारी भइरहेको छ । त्यसबाट आगामी २ वर्षमा १ हजारलाई रोजगारी दिने उनले बताए । कृषिमा तरकारी भन्दा पनि फलफूल र हब्र्समा काम गर्ने उनको योजना छ । यस्तै बानेश्वरस्थित कर्पोरेट कार्यालयमा भने सीटीईभीटी अन्तर्गतको प्राविधिक इन्स्टिच्युट सञ्चालन गर्ने योजना उनले सुनाए ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar