सिन्धुपाल्चोकका गाउँ–गाउँमा पर्यटक पुर्याउन काम गछौंः लिलाधर भण्डारी

सिन्धुपाल्चोकका गाउँ–गाउँमा पर्यटक पुर्याउन काम गछौंः लिलाधर भण्डारी

सिन्धुपाल्चोकको पर्यटकीय विकासमा त्यस क्षेत्रमा पर्यटन व्यवसायीहरु एकतावद्ध भएका छन् । जिल्लाको पर्यटन विकासका लागि केही समयअघि मात्र ‘सिन्धुपाल्चोक पर्यटन विकास परिषद’ गठन गरेका छन्। व्यवसायी लिलाधर भण्डारीको नेतृत्वमा गठित १३ सदस्यीय तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा जीवन लामा, प्रथम उपाध्यक्षमा विजय खतिवडा, महासचिवमा दामोदर ढकाल, सचिबमा केदार न्यौपाने, कोषाध्यक्षमा जनार्दन नेपाल र सदस्यहरुमा शुशिल तामाङ ईन्द्रमणी नेपाल,राजकुमार बस्नेत,पुष्पराज पराजुली,संगीता भट्टराई,अनु लामा र विदुर खतिवडा रहेका छन् । परिषद् गठनको उद्धेश्य र यसको कामकारबाहीबारे तदर्थ समितिका अध्यक्ष लिलाधर भण्डारीसँग हिमाली खबर डटकमले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ः

१) सिन्धुपाल्चोक पर्यटन विकास परिषद् के हो र यसले के काम गर्छ ?

यो सिन्धुपाल्चोक जिल्लालाई आन्तरिक एवम् बाह्य पर्यटकसँग जोड्ने एक विशुद्ध सामाजिक संस्था हो । यसले सिन्धुपाल्चोकमा भएका पर्यटकीय सम्भावनाहरुको पहिचान, प्रवद्र्धन र विकासका लागि काम गर्छ । हामीले केही दिन अघि मात्र मेरै नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेका छौं । अहिले विधान र मोडालिटी निर्माणको तयारीमा छौं । संघ, प्रदेश र स्थानीय सरकार, स्थानीय संघसंस्थासँग कसरी सहकार्य गर्दै काम गर्न सकिन्छ भनेर छलफलमा छौं । त्यसपछि यसलाई दर्ताको प्रक्रिया सक्ने छौं ।

२) अहिले आएर यसको आवश्यक किन पर्यो ?

हैन, यसको आवश्यकता निकै पहिले नै थियो । तर अहिले अवसर मात्र जुरेको हो । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकासका लागि हामीले धेरै अघि यो काम गर्नुपथ्र्यो । तर हामी एकजुट हुन सकिरहेका थिएनौ । त्यसका आफ्नै कारणहरु छन् । हरेकको व्यस्तता आफ्नै छ । त्यो फरक कुरा भयो । तर अहिले कोरोना संक्रमणले गर्दा हामीलाई भेटघाटको अवसरहरु पनि धेरै मिल्यो र हामीले त्यसलाई अघि बढाएका मात्र हौं ।

३) यस्ता संघसंस्थाहरु सुरुमा एउटा उद्धेश्यका लागि खुल्ने तर विस्तारै राजनीकिरण हुँदै जाने र उद्धेश्यबाटै बिमुख हुने गरेको पाइन्छ । कतै यो पनि त्यस्तै हुने त होइन ?

बिल्कुल होइन । यो सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकासका लागि मात्र स्थापित संस्था हो । यहाँ पर्यटन विकास, भएका गन्तव्यहरुको संरक्षण र नयाँको खोजी गर्दै स्थानीय स्तरमा रोजगारी सृजनालाई सर्बोपरि मान्छौं र त्याही अनुसार गछौं । व्यवसायीले राजनीति चिन्दैन र गर्दैन् । राजनीतिक आस्था राख्न पाउँने हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो संस्था भित्र कसैको राजनीतिक विचार र आस्थाले स्थान पाउँदैन ।

४) तपाईहरुले यो अभियान चलाई रहँदा खासमा सिन्धुपाल्चोक भित्र पर्यटकीय सम्भावना चाही कत्तिको छ ?

सिन्धुपाल्चोक निकै पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । यहाँ धेरै पर्यटकीय गन्तव्यहरु छन् । यहाँ विगत ५० वर्षदेखि पर्यटकीय गतिविधिहरु हुँदै आएको छ। यो जिल्लाका विभिन्न मार्गहरु भएर पर्यटकहरु पदयात्रामा जाने गर्छन्, धार्मिक यात्रामा जाने गर्छन, हिमालहरुको आरोहणमा जाने गर्छ । तर फरक यति हो यो क्षेत्रको सम्भावनालाई राज्यले चिन्नै सकेन । जुगल हिमाल, पाँचपोखरी, हेलम्बु, भैरवकुण्ड, तौथली लगायतका क्षेत्र बत्ती मुनीको अध्यारो जस्तो छाँयामा छन् । हो, यो परिषद्ले ति गन्तव्यहरुको प्रवद्र्धन गर्दै पर्यटकको रोजाइँमा पार्ने काम गर्छ । त्यसबाट स्थानीय स्तरमा रोजगारी सृजना एवम् उद्यमशिलता विकास हुन्छ । यो अभियान हामी चलाउँछौं ।
राज्यले यसअघिसम्म के गर्यो भन्दा जुनजुन क्षेत्र पर्यटकको छनोटमा परे ति क्षेत्रको मात्र विकासमा ध्यान दियो । तर अब ओझेलमा परेका र पारिएका गन्तव्यहरुको खोजी गर्दै सिन्धुपाल्चोकका गाउँगाउँमा पर्यटक पुर्याउन आवश्यक छ । त्यो अभियानमा हामी लाग्छौं ।

५) परिषद्मा को–को आवद्ध हुन सक्छन् ?

अहिले १३ जनाको तदर्थ समिति छ । तर अन्य सदस्यहरु थपिने क्रम बढिरहेको छ । सिन्धुपाल्चोक घर भई देश तथा बिदेशमा पर्यटन व्यवसाय र पर्यटन विकासका क्षेत्रमा संलग्न व्यवसायीहरुसँगै अन्य विभिन्न जिल्लाबाट सिन्धुपाल्चोक गएर पर्यटन व्यवसाय र विकासका क्षेत्रमा काम गरेकाहरु यसमा आवद्ध हुनसक्ने छन् । यो बाहेक हामीले स्थानीय स्तरको सम्भावना खोज्न र प्रवद्र्धन गर्न सहयोग पुग्ने हिसावले सबै स्थानीय निकासलाई आमन्त्रित वा पदेन बनाउँने र अन्य विभिन्न व्यवसायीक संघसंगठनहरुलाई पनि पदेन सदस्य बनाँउने योजनामा छौं । पर्यटन विकासमा चासो राख्ने सबैलाई यो संजालनमा जोडेर सबैको सल्लाह र सुझावबाट परिषद्लाई देशकै पर्यटन विकासका लागि नमुना संस्था र सिन्धुपाल्चोकलाई नमुना गन्तव्य बनाउँने हाम्रो लक्ष्य हो ।

६) अन्तमा सिन्धुपाल्चोक अहिले बाढी पहिरोले अस्तव्यस्त छ । त्यहाँका धेरै सम्भावनाहरुमा क्षती पुगेको छ, त्यसको पुनर्निर्माण र पुनउत्थान कहिलेसम्म हुन्छ निश्चिित छैन् । यो अवस्थामा परिषदद्ले यसलाई कसरी सघाउछ ?

पछिल्लो समय बाढीपहिरो लगत्तै हामीले केही राहत संकलन गरेर पठायौं । र अप्ठ्यारोमा परेकाहरुलाई केही भएपनि सहयोग गर्न सक्यौं । आगामी दिनमा पनि व्यवसायीक क्षेत्रलाई जागरुक गराउँदै पुनरुत्थानको काममा सहयोग जुटाउन पहल गछौं । कयौं शैक्षिक संस्थाहरु भत्किएका छन्, कयौंका व्यापार, व्यवसाय एवम् रोजगारीहरु गुमेको छ। हाम्रो अनुभव र क्षमताको आधारमा ति कामहरुमा पनि हामी निश्चय पनि सहयोग गर्ने नै छौं ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar