बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

काठमाडौं । यूरोपेली संघ बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयमा सहमत भएको छ । ब्रसेल्समा सोमबार २७ सदस्य राष्ट्रको बैठकले बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोग गर्न प्रतिबन्ध लगाउनुका साथै यूरोपेली सदस्य राष्ट्रको विमान बेलारुसको आकाश प्रयोग नगर्ने विषयमा सहमत भएको हो ।

बैठकले बेलारुसमाथि छिट्टै अन्य आर्थिक प्रतिबन्धहरु लगाउने विषयमा समेत सदस्य राष्ट्र सहमत भएका हुन् । बीबीसीका अनुसार २६ वर्षीय पत्रकार रोमन प्रोटासेभिच चढेको विमान ग्रीसबाट लिथुएनिया जाने क्रममा बाटो परिवर्तन गराइ मिन्स्क विमानस्थलमा अवतरण गराइएको थियो । पश्चिमा देशहरुले भने बेलारुसमाथि र्यानएयरको उक्त विमानको अपहरण गरेको आरोप लगाएको छ । प्रोटासेभिचलाई मिन्स्क विमानस्थलमा बन्धक बनाइएको छ ।

बेलारुसले प्रोटासेभिचमाथि अपराधिक मुद्दा चलाएको थियो । सोमबार अबेर नै जारी गरिएको एक भिडियोमा प्रोटासेभिचले अपराध स्वीकार गरेको देखिएको छ ।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar