निषेधाज्ञाले अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक अलपत्र

निषेधाज्ञाले अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक अलपत्र

पोखरा । नयाँ भेरिएन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ ।

स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् ।

यस गाउँपालिकामा अहिले नयाँ भेरिएन्टसहितको कोरोनाभाइरस देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’ जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् ।

गत मङ्गलबारको पीसीआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । हाल जिल्लाभर कोरोना संक्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

अहिलेसम्म जिल्लाका दुईवटा गाउँपालिकामा मात्र संक्रमित भेटिएका छन् । यसमध्ये चामे गाउँपालिकामा सात र मनाङ ङिस्याङ गाउँपालिका ३७ जना संक्रमित रहेका छन् ।

मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना खाङ्सार तिलिचो बेसक्याम्पमा ४, ङावोलगाउँमा ३ र पिसाङगाउँमा १ गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar