म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने तयारी

म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने तयारी

काठमाडौं, ७ फागुन । सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनः अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो । अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । तर, वैदेशिक रोजगार विभागले जारी गरेको छैन ।

अवैध एजेन्ट अर्थात् दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ बनेको भन्दै विभागले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिन छलफल अघि बढाएको बताएको छ । वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल म्यानपावरलाई शाखा कार्यालय खोल्न दिनेबारे व्यवसायी र सरोकारवालासँग छलफल अघि बढाएको बताउँछन् ।

अवैध एजेन्टका कारण वैदेशिक रोजगारीका जाने कामदार ठगिने क्रम झनै बढेकाले म्यानपावरको शाखा विस्तारलाई खुला गर्नु पर्ने उनको दावी छ । म्यानपावर कम्पनीलाई कतिवटासम्म शाखा खोल्न दिने भनेर छलफल भइरहेको विभागले बताएको छ । सरकारले सबै म्यानपावरलाई प्रत्येक प्रदेशमा एक–एक वटासम्म शाखा कार्यालय खोल्न दिन सकिने बताएपनि व्यवसायी भने थप लचकता आवश्यक रहेको बताइरहेका छन् ।

शाखा कार्यालय खोल्दा केके शाखा खोल्न पुरा गर्नुपर्ने, शाखाको सञ्चालन कसरी गर्ने, केके नियम पालनना गर्ने ? लगायतका विषयहरु पनि तय गर्न बाँकी छ । नियमअनुसार ५ लाख रुपैयाँ थप धरौटी राखेपछि विभागले म्यानपावरलाई शाखा विस्तारको अनुमति दिनसक्छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar