नौ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै सकियो लघुवित्तका सिइओहरुको राष्ट्रिय सम्मेलन

नौ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै सकियो लघुवित्तका सिइओहरुको राष्ट्रिय सम्मेलन

काठमाडौं। लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुले शाखा बिस्तार गर्दा सदस्यमा दोहोरोपना आउन नदिने प्रतिबद्धता गरेका छन्। लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त संघ नेपालले पहिलोपटक आयोजना गरेको लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को राष्ट्रिय सम्मेलनमा यस्तो प्रतिबद्धता गरिएको हो।

काठमाडौंमा भएको दुईदिने सम्मेलनले नौ बुँदे प्रतिबद्धतापत्र घोषणा गरेको छ। संघका अध्यक्ष जगत पोखरेलका अनुसार सम्मेलनमा सहभागी सीइओ र विज्ञ तथा संघका पदाधिकारीका बीच भएको छलफलपछि प्रतिबद्धतापत्र जारी गरिएको हो। प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी नियुक्त गर्नु पूर्व अघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने, कर्मचारीको दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्नेलगायतका विषय समेटिएका छन् ।

त्यसैगरी सूचना प्रविधिको अधिकतम प्रयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शीरुपमा कारोबारलाई जानकारी दिने प्रतिबद्धता पनि सीइओहरुले गरेका छन्। उनीहरुले लघुवित्त बैंक र शाखाका बीचमा अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्ने पनि प्रतिबद्धतामा छ।

सम्मेलनमा देशभरका लघुवित्त वित्तीय संस्थाका करिब ४० जना प्रमुख कार्यकारी अधिकृतहरुको सहभागि थियो ।

सहभागी प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव तथा लघुवित्त विज्ञ डा. मानबहादुर विक र लघुवित्त विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा. भरतसिंह थापाले प्रशिक्षण दिएका थिए।

प्रकाशित मिति:     ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar