काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ जेठको तुलनामा २०७८ जेठमा विद्युतीय कारोवारमा चार गुणाले वृद्धि भएको छ । बैंकका अनुसार २०७७ जेठमा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख बराबरको कारोबार भएकामा २०७८ जेटमा आइपुग्दा २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।
त्यसमा आरजिटिएस, कनेक्ट आइपिएस र मोबाइल बैंकिङको ठूलो हिस्सा रहेको छ । विवरण हेर्दा कारोबारको मात्रा एक वर्षको अवधिमा ४१२ प्रतिशतले बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार २०७७ जेठमा छ लाख ९६ हजार ५३८ पटक कनेक्ट आइपिएसबाट कारोवार भएकोमा २०७८ जेठमा आइपुग्दा त्यसमा वृद्धि भई दुई लाख १६ हजार ६४८ पुगेको छ । २०७७ जेठ मसान्तसम्म कूल ३७ हजार २९७ पटक आरजिटिएसमार्फत भुक्तानी भएकोमा २०७८ जेठमा पुग्दा कूल ३४ हजार ८७४ पटक आरजिटिएस कारोवार भएको छ । यस्तै, क्यूआरमा आधारित कारोवारमा पनि उत्तिकै वृद्धि भएको छ । ०७७ असार मसान्तमा एक लाख ९५ हजार १६ वटा कारोवार भएकामा ०७८ जेठ मसान्तमा आइपुग्दा यसमा वृद्धि भई पाँच लाख दुई हजार ६६६ पुगेको छ ।
मोबाइल बैंकिङमार्फत ५८ लाख १७ हजार ६८१ पटक कारोवार भएकोमा त्यो बढेर २०७८ जेठ मसान्तमा एक करोड १० लाख रुपैयाँ पुगेको छ । वालेटमार्फत हुने कारोवारको अवस्था पनि त्यस्तै उत्साहप्रद रहेको छ । ०७७ जेठमा एक करोड एक लाख ७९ हजार ५५७ पटक कारोवार भएकोमा ०७८ जेठ मसान्तमा केही घटेर ९७ लाख ५० हजार ६५ रुपैयाँमा सीमित भएको छ । कोरोनाका कारण २०६७ चैतदेखि २०७७ साउनसम्म देशव्यापी लकडाउन लागू भयो । यस्तै २०७८ वैशाख १६ गतेदेखि २०७७ असारको दोस्रो सातासम्म देशव्यापी निषेधाज्ञा लागू भयो । त्यस्ले गर्दा डिजिटल कारोबारलाई बढाएको अनुमान छ ।