काठमाडौं । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको बताए ।
हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माका अनुसार सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जीविनाको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको छ ।
बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ ।