किम जोङ उन दुब्लायँदै गएपछि उत्तर कोरियाली चिन्तित

किम जोङ उन दुब्लायँदै गएपछि उत्तर कोरियाली चिन्तित

काठमाडौं । आफ्ना नेता किम जोङ उन दिनदिनै दुब्लाउँदै गएपछि उत्तर कोरियाली जनता चिन्तित बनेका छन्। समाचार संस्था रोयटर्सका अनुसार गत शुक्रबार उत्तर कोरियाको सरकार नियन्त्रित केआरटी टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्तामा राजधानी प्योङयाङका एक बासिन्दाले दुब्लाउँदै गएका किमलाई देखेर आफूहरू भावुक हुने गरेको बताएका छन्।

विदेशी विश्लेषकहरूले ३७ वर्षीय किमको स्वास्थ्यमा समस्या भएको हुन सक्ने बताइरहेका बेला उत्तर कोरियाको सरकारी टेलिभिजनमै उनको स्वास्थ्यबारे टिप्पणी भएको हो। सामान्य अवस्थामा उत्तर कोरियाका सञ्चारमाध्यमले किमको स्वास्थ्यबारे सामग्री प्रकाशनरप्रसारण गर्दैनन्। प्योङयाङका ती वासिन्दाले आफूहरूले किमको हालैको एउटा भिडिओ हेरेको र त्यसले आफूहरूलाई चिन्तित बनाएको बताएका छन्।

केही समयअघि वर्कर्स पार्टी अफ कोरियाको बैठकपछि किम र पार्टीका अन्य पदाधिकारी सहभागी एउटा कन्सर्टको भिडिओ प्योङयाङका सडकमा ठूला पर्दा राखेर देखाइएको थियो। किम किन दुब्लाउँदै गएका हुन् भन्नेबारे सरकारी मिडियाहरूले केही खुलाएका छैनन्। केही समयको अन्तरालपछि जुन महिनाको सुरूमा किम सरकारी मिडियामा देखिएपछि दक्षिण कोरियाको सउलस्थित एनके न्युजले उनले नाडी मसिनो भएको र पहिलाभन्दा घडी निकै कसेर बाँधेको विश्लेषण गरेको थियो।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar